
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ ।
कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन भएपछि आयोजना अलपत्र परेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र पर्ने गरेका छन् । स्थानीय बासिन्दा आफैले पहिरो पन्छाएर यातायात सञ्चालन गर्दे आएका छन् । लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न २२ करोड ५७ लाखमा बिरुवा–क्याराभानले ठेक्का लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्