१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सेनेटरी प्याडको मूल्य बढेकोमा विरोध

महिलाको प्रश्न– ‘कण्डम सित्तैमा बाड्न सक्ने सरकारले प्याडमा किन कर बढायो ?’

0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ । महिनावारीको समयमा हुने संक्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ ।

सुरक्षित मानिने भएकै कारण धेरै महिलाले महिनावारीको समयमा बजारमा सजिलै पाइने सेनेटरी प्याड प्रयोग गर्छन् । सामान्यतया यस्ता प्याड प्रति प्याकेट ७० देखि ३ सय रुपैयाँसम्म पर्ने गर्दछ । एक प्याकेडमा ६ वटा सम्म प्याड हुन्छन । तर, यी प्याड विदेशवाटै आयातित हुने गर्दछ ।

नेपालमै उत्पादन गर्न थालिए पनि आयातित प्याडको माग र प्रयोग बढ्दाे छ । जसका कारण वर्षेनी करोडौं रुपैयाँको सेनेटरी प्याड नेपालमा आयात हुन्छ । तर, सरकारले भने सेनेटरी प्याड आयातमा लाग्ने भन्सार शुल्कमा वृद्धि गरेपछि त्यसको विरोध भएको हो ।

बिहीबार युथ कांग्रेस नेपालका सदस्यहरूले माइतीघर मण्डलामा प्याडकाे मूल्य बढेकाेमा विराेधसमेत गरे । ‍याे विषय संसदको शिक्षा तथा स्वास्थ्य समितिमासमेत उठिसकेको छ । सरकारको निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेमा किशोरीहरूको समूह ठूलो छ । तत्काल सरकारले निर्णय सच्याउनुपर्ने उनीहरूकाे माग छ ।

सामान्यतया महिलाहरुको महिनावारी १०/१२ वर्षको उमेददेखि ४९/५० वर्षसम्म चल्ने गर्छ । एक पटक महिनावारीको समयमा नै एक महिलालाई दुई प्याकेट भन्दा बढी सेनेटरी प्याड आवश्यक पर्छ । जसका कारण महिनाको ठूलो रकम प्याडमा खर्च हुने गर्छ । कण्डम सित्तैमा बाडेको सरकारले सेटेरी प्याड पनि निःशुल्क गर्नुपर्ने महिलाहरूको माग छ ।

नेपालमा उत्पादित सेनेटरी प्याडले बजार लिन सकेको छैन । नेपालमा उत्पादित सेनेटरी प्याडलाई प्रवर्द्धन गर्नुपर्दछ । तर, स्वदेशी उत्पादनले बजार लिने अवस्थासम्म सरकारले प्याडमा सहुलियत दरमा वितरण गर्ने नीति लिन जरुरी छ ।