
नारायणी लामिछाने
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स राष्ट्रको मूलधन हुने गरेको छ । कोभिडबाट घाइते अर्थतन्त्रलाई रेमिट्यान्सको संजीवनीले बचाएको थियो । तर, चालु आर्थिक वर्ष सुरु भएयता भने रेमिट्यान्समा कमी आएको छ ।
रेमिट्यान्समा कमि आएसँगै त्यसको प्रभावको सन्दर्भमा विभिन्न आँकलन सुरु भएको छ । अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्समा कमी आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली उत्पादन, उपभोग, लगानी र सम्पूर्ण आर्थिक प्रणालीमा नै पर्नेमा अर्थविद्हरूले सचेत गराएका छन् । नेपालको कुल आम्दानीको ३० प्रतिशत बढी हिस्सा रेमिट्यान्सले ओगटेको छ ।
रेमिटयान्सले कुल उपभोगको ७२ प्रतिशत, विदेशी मुद्रा सञ्चितीको ८० प्रतिशत, आयातमा ५० प्रतिशत ओगट्छ भने कुल आम्दानीको एक तिहाइमा रेमिट्यान्सको योगदान छ । गत वर्षहरूमा कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेहरूले रकम पठाउनु, औपचारिक च्यानलबाट रकम भित्रिनु नेपालमा रेमिट्यान्स बढ्ने प्रमुख कारण थिए ।
तर, अहिले वैदेशिक रोजगारीबाट तत्कालै नेपाल फर्किनेको संख्या पनि कम छ । रेमिट्यान्स घट्ने हो भने नेपालको आयात समेत आधा घटेर जाने अर्थविद् डा. दिननाथ दंगाल बताउनुहुन्छ । यसले उपभोग, उत्पादन लगायत समग्र आर्थिक क्षेत्रमा नै नकारात्मक असर पर्ने उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोडमा सीमित रहेको तथ्याङ्क सार्वजनिक गर्यो । गत वर्षको यही अवधिमा रेमिटया्न्स २३ प्रतिशतले बढेको थियो । त्यसअघि गत असार मसान्तसम्म रेमिट्यान्समा ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब र गत जेठ मसान्तममा १२ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब रकम भित्रिएको तथ्याकं राष्ट्र बैंकको छ ।
तर, रेमिट्यान्समा कमी आउँदा विदेशी मुद्रा सञ्चितीका साथै आयात र उपभोग घट्ने र त्यसको दिर्घकालीन रूपमा अर्थतन्त्रमा अभावको अवस्था देखिने डा. दंगालको तर्क छ । रेमिट्यान्समा निर्भर अर्थतन्त्रको मुख्य आधार नै घट्दा तनसनहस हुने अवस्था आउने उहाँको भनाइ छ । रेमिट्यान्स सर्लक्कै घटेको अवस्थामा अर्थतन्त्रमा ‘डट डिजिट’को अवस्था आउनसक्ने उहाँ बताउनुहुन्छ ।
यस्तो अवस्थामा उत्पादन र रोजगारीमा लगानी वृद्धि गर्नुको विकल्प नभएको अर्थविद् बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्