
काठमाडौं । काठमाडौं किङ्स–११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा दुई विदेशी खेलाडी रायन ब्रुल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ७३ रन बनाउँदा ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।
गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल शुन्य रनमा आउट भए । ललितपुरका पवन सर्राफले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमाएको ललितपुरका लागि पवनले ६१ रन बनाए ।
योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ओशाडा फर्नान्डो ४ संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट हुँदा ललित राजवंशी शुन्य रनमा अविजित रहे ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।
जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस्