
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारूढ गठबन्धनमा भएका दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउनुभएको छ ।
‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन । घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन,’ काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा नेता उहाँले भन्नुभयो, ‘उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्यो ।’
नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाउनुभयो । नेता सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नुपर्ने बताउनुभयो । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उहाँको भनाइ छ । यद्यपि सरकारले सेनेटरी प्याड आयातका कर थप नगरेको अर्थ मन्त्रालयले प्रष्ट पारिसकेको छ ।
कांग्रेसको १४औं महाधिवेशनको मिति पटक–पटक सर्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको पनि सिंहले आरोप लगाउनुभयो । कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उहाँले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्