२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्यटकका लागि अनअराइभल भिसा खुलाए पनि व्यवसायी त्रसित

ठमेलका ५० प्रतिशत व्यवसाय बन्द, ६० हजार जनशक्ति विस्थापित

0
Shares

मिरा बस्नेत
काठमाडौं । कोरोना महामारीले मुलुकको पर्यटन क्षेत्रले ननिको क्षति व्यहोर्नुप¥यो । पर्यटकको सिजन सुरु हुने यो समयलाई मध्यनजर गर्दै सरकारले पर्यटकका लागि भिसा खुला गरेर नेपाल सुरक्षित गन्तव्य रहेको सञ्चार गराउन खोजेको छ ।

दैनिक २० करोड बढी आर्थिक क्षति व्यहोर्न बाध्य ठमेलको पर्यटन व्यवसायी सरकारी निर्णयपछि पनि पर्यटक चहलपहल बढ्नेमा विश्वस्त हुन सकेका छैनन् । सधैँभरी पर्यटकले भरिभराउ हुने ठमेल क्षेत्र सुनसान भएको दुई वर्ष भयो ।

चौविसै घण्टा अनिदो हुने ठमेल अहिले जतिबेला पनि सुतेझैँ लाग्छ । तर, सरकारले खोपको मात्रा पूरा गरेका र ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट भएमा पर्यटकहरूका लागि अनअराइभल भिसा खुला गरेपछि ठमेलका पर्यटन व्यवसायीमा थोरै भए पनि आशा पलाएको छ ।

सरकारको निर्णय उपयुक्त समयमा आएको र यसले पर्यटको आगमन बढाउन सहयोग पुग्ने ठमेल पर्यटन विकास परिषदका प्रमुख सल्लाहाकार रामशरण थपलिया बताउनुहुन्छ । कोभिडका कारण ठमेलका ५० प्रतिशत व्यवसाय बन्द भएका र ६० हजारभन्दा बढी जनशक्ति विस्थापित भएको उहाँको भनाइ छ ।

कोरोना कहरकैबीच ठमेलका थुप्रै व्यवसायी आफ्नो पेशा व्यवसाय छाड्न बाध्य भए । करिब २० वर्षदेखि ठमेलमा व्यवसाय गर्दै आएका श्याम अधिकारी, महामारीको २ वर्ष निकै कष्टकर रहेको बताउनुहुन्छ । अर्का व्यवसायी दिनेश खनालको गुनासो पनि उस्तै छ ।

सरकारको निर्णय राम्रो भए पनि महामारीकै बीचमा पर्यटक सहजै नेपाल आउनेमा व्यवसायीहरू शंका व्यक्त गर्छन् । सरकारले नेपाल आउन चाहने पर्यटकको लागि बाटो खुला गरे पनि कतिपय देशहरूले अझै पनि आफ्ना नागरिकलाई घुम्नका लागि देशबाहिर जाने अनुमति दिएका छैनन् ।

सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।