
डम्मर बुढा मगर
बागलुङ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिएपछि अहिले व्यावसायीक चहलपहल बढेको छ । कालीगण्डकी नदीमाथि ५६७ मिटर लामो झोलुङ् पुल बनेपछि अहिले यस क्षेत्रमा धमाधम व्यवसायीक गतिविधि बढ्न थालेको हो । यहाँ भवनहरु धमाधम निर्माण भइरहेका छन् ।
केही वर्ष अघिसम्म अदुवाबारी यसरी परिवर्तनको सम्भावना लिएर आउला भन्ने स्थानीयले सोचेकै थिएनन् । डरलाग्दो भीर माथिको टाकुरोमा झोलुङ्गे पुलले धेरैलाई आकर्षित बनाएको छ । पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरीको पर्यटन क्षेत्रमा पनि रौनकता थप्न थालेको छ ।
कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै आएको छ । दैनिक पुलमा २/३ सय भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । मानिसहरुको आगमन बढेसँगै यहाँ व्यवसाय फस्टाउन थालेका छ । किराना पसल, होटल तथा रेष्टुरेण्ट लगायतका व्यवसाय गर्ने संख्या र लगानी बढ्दो छ ।
कोरोना संकटकै बेला संचालनमा आएका होटल र रेष्टुरेन्टहरुमा पछिल्लो समय चहल पहल बढे पछि स्थानीय व्यवसायी उत्साहित हुन थालेका छन् । लकडाउनको समय होटल तथा रेष्टुरेण्टहरु बन्द भए पनि अहिले चहल पहल बढेको होटल व्यवसयासी नवराज श्रीसले बताउनुभयो ।
यस क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि व्यवसायिक रुपमा स्वीङ पनि संचालनमा ल्याइएको छ । यस्तै अरु संरचना पनि निर्माण भइरहेका छन् । पुलकै कारण यो ठाउँमा व्यापार व्यवसायका लागि उपयुुक्त स्थल बन्दै गएकाले व्यापार व्यवसायका लागि व्यवसायीहरु थपिने क्रम जारी छ । स्थानीय तोसमाया माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउनुहुन्छ । यस ठाउँलाई थप व्यवस्थित र पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सके बागलुङ र पर्वतका स्थानीयको जीविकोपार्जनमा ठूलो टेवा मिल्ने छ ।
प्रतिक्रिया दिनुहोस्