
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत धमाधम वडा र स्थानीय तहको अधिवेशन भइरहेको छ । अहिलेसम्म ६४ जिल्लामा वडाअधिवेशन र ५५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ ।
अधिवेशनले दुई खुड्किला पार गर्नै लाग्दा पनि निर्धारित मितिकै केन्द्रीय महाधिवेशन हुनेमा आशंका भने कायमै छ । क्रियाशील सदस्यता विवादकैबीच भदौ १८ गतेदेखि सुरु भएको अधिवेशनको प्रक्रियाले दुई चरण पार गरिसक्दा पनि विवाद समाधान हुन सकेको छैन ।
महाधिवेशन केन्द्रीत विवाद र रस्साकस्सी चुलिँदो छ । मुख्यगरी नेतृत्व आकांक्षीहरूको जसरी पनि नेतृत्व कब्जा गर्ने मनसायले अधिवेशन प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि विवाद उत्कर्षमा जाँदो छ । पार्टीभित्रको बढ्दो विवाद र घम्साघम्सीले फेरि पनि महाधिवेशन प्रभावित हुने आशंका बढेको छ ।
पार्टीे संस्थापन पक्ष महाधिवेशन प्रक्रियाले सहज रूपमा गति लिइसकेकाले अब महाधिवेशनप्रति आशंका गर्नुपर्ने कारण नरहेको जिकिर गर्छ । धेरै जिल्लाहरूको वडा र पालिकाहरूको अधिवेशन भइसकेको र बाँकी रहेको जिल्लाहरुमा पनि दशैंअघि नै टुंग्याउने तयारी भइरहेकोले महाधिवेशन नरोकिने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत बताउनुहुन्छ । जिल्ला अधिवेशन हुनुअघि समयको चाप परेको स्वीकार्दै तोकिएको समयमा महाधिवेशन गर्न वातावरण बनिसकेको उहाँको तर्क छ ।
तर, पार्टीभित्रको संस्थापनइतर पक्षले भने अझै पनि निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न हुनेमा आशंका गर्न छोडेको छैन । महाधिवेशनको अन्योल बढ्दै गएकाले पार्टीको कुनै पनि सदस्यलाई मंसिरमा महाधिवेशन ढुक्कसँग हुन्छ भन्ने पक्षमा आफू नभएको केन्द्रीय सदस्य गगन थापा बताउनुहुन्छ । पार्टी नेतृत्व र पदाधिकारीहरूको बैठकले महधिवेशनको समय लम्ब्याए आफूहरूलाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।
संस्थापनइतर पक्षको आशंकालाई संस्थापन पक्षले भने महाधिवेशन केन्द्रीत भोटको सस्तो प्रचारवाजीको रूपमा लिएको छ । वडा र पालिका तहमा आफू अनुकल परिणाम नआउँदा असन्तुष्टि प्रकट गरेर खेलिदिँदा समयमा महाधिवेशन नहुने भनेर हल्लाखल्लाको वातावरण बनेको संस्थापन पक्षीय नेता बस्नेत बताउनुहुन्छ । अधिवेशन समयमा नगरेर आफू चर्चित हुने प्रवृत्ति देखिएको उहाँको आरोप छ ।
कांग्रेस महाधिवेशन लामो समयसम्म क्रियाशील सदस्यता विवादका कारण पटक–पटक निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिका प्रभावित हुने विवाद अहिले पनि ज्यूँ का त्यूँ छ । अधिवेशन भइसकेका वडा र स्थानीय तह पनि विवाद मुक्त छैनन् । कतिपय विवाद प्रक्रियागत छन् भने कतिपय अधिवेशनलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । क्रियाशील सदस्यतादेखि आफ्नो दुनो बलियो बनाउन सुरु गरेका पार्टी नेतृत्वका आकांक्षीहरू आफ्नो पल्लाभारी बनाउन अहिले पनि विभिन्न बखेडा झिक्न छोडेका छैनन् ।
पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।
प्रतिक्रिया दिनुहोस्