२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दशैंका लागि अग्रिम बुकिङ टिकट खुल्यो, अनलाइन सेवाको सरकारी प्रतिवद्धता घोषणामै सीमित


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । सरकारले अनलाइन बुकिङ, स्वास्थ्य मापदण्ड र सुरक्षाका विषयमा अनेक प्रतिवद्धता जनाए पनि व्यवहार ठीक उल्टो छ ।

दशैंअघि भाडावृद्धिको उपहार पाएका सर्वसाधारण भाग्यभरोसाको यात्रा गर्न बाध्य छन् । व्यवसायी र सरकारका प्रतिवद्धता सार्वजनिक खपतका विषयमा सीमित देखिएको छ । टिकट बुकिङ्ग खुलेको दिन नयाँ बसपार्क पुग्दा अघिल्ला वर्षहरूजस्तो भीडभाड देखिएन ।

अनलाइन बुकिङको आकर्षणले बसपार्कमा भीड नदेखिएको हुनसक्ने हाम्रो अनुमान रह्यो । पछि बुझ्दा थाहा भयो अनलाइन टिकट बुकिङको अवस्था झन् दयनीय रहेछ । टिकट लिन लाम लागेकाहरूले टिकट बुकिङलाई अझै भरोसा गर्न सकेका छैनन् । कतिपयलाई अनलाइन बुकिङ हुन्छ भन्ने थाहै छैन भने कतिपय अनलाइन बुकिङको भर नलागेर आएको बताउँछन् ।

सरकारले यातायात कम्पनीहरूमार्फत सहजै बुकिङ गर्न सक्ने बताए पनि सूचना प्रविधिको पहुँच रहेको अवस्थामा यात्रुले पाएको सास्ती पाइरहेका छन् । व्यवसायीहरू भने यसमा सरकारलाई दोषी देख्छ । सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।

यसपटक अर्को महत्वपूर्ण विषय भनेको स्वास्थ्य मापदण्डको अवस्था हो, बसपार्कको अहिलेको अवस्था हेर्दा स्वास्थ्य मापदण्ड पालनाको अवस्था हरिविजोग छ । गाडी चढ्ने यात्रुदेखि काउन्टरको हालत अस्तव्यस्त छ । हेल्थ डेस्क खाली छ । खै मास्क लेखेको ब्याज भिर्ने प्रहरीकै मुखमा मास्क छैन । स्वास्थ्यको विषयमा लापरबाही आपत्तिजनक छ ।