
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ ।
पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको बताउनुभयो ।
सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरूबीच संवाद भइरहेकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा प्रधानमन्त्रीजी गम्भीर हुनुहुन्छ, मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्न जरुरी छ ।’
नेता लेखकले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दावीसमेत गर्नुभयो । उहाँले दशैंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको बताउँदै समयमा महाधिवेशन हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्