६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पद्मश्री साहित्य पुरस्कार दाहालको ‘मोक्षभूमि’ र साधना सम्मान भजन शिरोमणि आचार्यलाई प्रदान गरिने


0
Shares

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक-सामाजिक अभियन्ता केशव दाहालकाे उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरिने भएकाे छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको उक्त पुरस्कार दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।

त्यस्तै, पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीत सङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । वि‍.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीत सङ्गीतका लागि ठूलो क्षति हो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुबै पुरस्कारको राशी तीन/तीन लाख रहेको छ । वि.स २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायकमण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार दिँदै आएकाे छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिदै आएकाे छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिदै आएको थियाे । यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा दिइने खेमलाल/हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनु भएकाे छ ।