
एजेन्सी । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ ।
सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले आफूहरुसँग पर्याप्त आपूर्ति रहेको बताउँदै केही दिनमा आपूर्ति सहज हुने बताउनुभयो ।
तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर मोटरीङ ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् ।
यता मन्त्रीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।
सरकारले ट्यांकर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्