
प्रकाश नेपाल
इलाम । व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिका भित्र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट अर्थतन्त्र विकास गर्ने रोङ गाउँपालिकाले नीति लिएको पालिका अध्यक्ष समशेर राईले बताउनुभयो ।
समथर भू–भाग र भिराला जग्गामा घाँस खेती गर्न, बाख्राको खोर सुधार र कम्पोष्ट मल बनाउने सम्मका योजनामा गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले बाख्रा पालन गर्ने किसानलाई बाख्राको खोर सुधारका लागि १० हजारदेखि ३५ हजारसम्म आर्थिक सहयोग गर्दै आएको हो ।
चरन क्षेत्रमा आधारित बाख्रा पालनलाई सुधारिएको खोरमा पालन गर्ने सिप किसानलाई हस्तान्तरण गर्ने काम पनि हुँदै आएको छ । सुधारिएको खोरमा बाख्रा पालन गर्ने किसानलाई निःशुल्क रुपमा उन्नत जातको घाँस वितरण गरिन्छ । यस्तै जिल्लाकै माङसेवुङ गाउँपालिका १ का याम कार्कीले गाउँ फर्केर वोयर बाख्रा पालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् ।
निजि लगानिमा दक्षिण अफ्रिकावाट ३ वटा बाख्रा ल्याएर फर्म सञ्चालन थालेका हुन् । अहिले उनको फर्ममा डेढ सय वटा जति पिउर र क्रश वोयर वाख्रा छन् । उन्नत जातको वोयर वाख्रा उनले प्रति गोटा ३ लाख रुपैयाँ सम्ममा बिक्री गर्छन । फर्ममा करिव डेढ करोड रुपैयाँका बाख्रा रहेको उहाँको दावी छ ।
लगन, मेहनत र सहि काम छनौट गर्न सकियो भने गाउँमा नै बसेर ठूलो आर्थिक प्रगती गर्न सकिन्छ भन्ने उदाहरण यि गाँउका युवा बनेका छन् । गाउँवाट विदेश जाने क्रम उच्च हुँदै गएपछि यी युवाहरुले बाख्रापालनमा अरुलाई पनि प्रोत्साहित गरपेपछि अहिले सिङ्गो गाउँमा नै बोयर बाख्रा पाल्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्