
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।
वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।
बिहानपख घाम लागे पनि मैदान नसुकेका कारण खेलाडीको सुरक्षाका लागि भन्दै खेल स्थगित गरिएको एम्पाएर सञ्जय गुरुङले जानकारी दिनुभयो ।
‘आउटफिल्ड सुकेको छैन, मैदान हिलाम्मे छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा हाम्रो पहिलो प्राथमिकता खेलाडीहरूको सुरक्षा हो ।’
आयोजकले क्रिजमा त्रिपालले छोपे पनि पूरै मैदान नछोप्दा दैनिक खेलहरू स्थगित भइरहेका छन् । आइतबार पहिलो इनिङ्स नसकिँदै पानी परेपछि पोखरा र भैरहवाको खेल रद्द भएको थियो । दुवै टोलीले अंका बाँडेका छन् ।
सोमबार स्थगित भएका दुई खेलहरूको भने तालिका सार्वजनिक गरिएको छैन । उनीहरूबीचको खेल असोज १५ गते काठमाडौं र विराटनगर र १६ गते चितवन र भैरहवाबीच खेल हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्