
प्रदीप पौडेल
पोखरा । कोरोना महामारीसँगै थलिएको पोखराको पर्यटन बजार एकाएक तातेको छ । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन एकैचोटी ११ देशका राजदूत पोखरा एयरपोर्टमा ओरालेपछि एकाएक पर्यटकीय सरगर्मी बढेको हो ।
गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले अरु प्रदेश भन्दा महत्पूर्ण मानिन्छ । पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उकास्ने प्रयास जारी राखेको छ । विश्व पर्यटन दिवसको दिन पोखरा पुगेका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुखले पोखरा घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश दिएका छन् ।
पोखराको कास्कीकोट, सराङकोटदेखि पदयात्रा र प्राकृतिक सुन्दरताको समेत विशिष्ट अतिथिहरूले खुलेर प्रशंसा गरेका छन् । कास्कीको नाउँडाँडाबाट सुरु भएको पदयात्रा करिब ४ घण्टासम्म चलेको थियो । पोखरामा आयोजित मिनी सडक महोत्सवमासमेत सहभागी भएका उनीहरूले पर्यटन क्षेत्रमा पोखरा पोख्त रहेको प्रतिक्रिया दिए ।
नेपालका लागि इजिप्टका राजदूत माइकलले पोखरामा पहिलो पटक भ्रमण गरेको बताउँदै यहाँको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको बताउनुभयो । नेपालका लागि जर्मनका राजदूत डाक्टर थोमस, बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले यहाँको सुन्दरता अद्वितिय रहेको भन्दै भावी पुस्ताका लागि बचाइ राख्नुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसियालगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च टोली पोखरा पुग्दा पर्यटकीय माहोल बनेको हो ।
एकै पटक राजदूतहरूलाई पोखरामा बोलाएर गण्डकी प्रदेश सरकारले पोखरा घुम्नका लागि सुरक्षित रहेको दिएपछि यहाँको माहोल बेग्लै देखिएको छ । आगामी दिनमा पोखरा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुनेमा पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी आशावादी देखिनुहुन्छ ।
पर्यटकीय माहोलकाबीच रेवान पोखराले आयोजना गरेको एकदिने मिनी सडक महोत्सवको समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । यहाँको तामझाम हेर्दा अबका दिनमा पोखरा पर्यटकका लागि घुम्न सहज छ भन्ने सन्देश दिन खोजिएको छ ।
प्रतिक्रिया दिनुहोस्