१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कामदारको माग बढेसँगै वैदेशिक रोजगारमा सुधारको संकेत

दैनिक १५ सयले लिए श्रम स्वीकृति

0
Shares

नारायणी लामिछाने
काठमाडौं । कोरोना महामारीका कारण अढाइ वर्षसम्म सुस्ताएको वैदेशिक रोजगार पुनः सुचालु हुने संकेत देखिएको छ । कोरोना महामारी केही मत्थर भै साउदी, कतार लगायतका मुलुकबाट कामदारको माग आउनथालेसँगै श्रम स्विकृती लिनेको संख्या पनि बढिरहेको हो ।

पछिल्लो समय दैनिक श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या १५ सय बढि पुगेको छ । कतार, साउदी अरब लगायतका खाडी मुलुकमा श्रमिकको माग उच्च भएसँगै २ वर्षसम्म सुनसान रहेको वैदेशिक रोजगार कार्यालयमा अहिले कामदारको भीड लाग्न थालेको हो ।

यसअघि विभिन्न खाडी मुलुकहरू पनि खुल्न थाल्नु र चाडबाडको छुट्टीमा नेपाल फर्कनेले पुनः श्रम स्वीकृति लिइरहेका छन् । साउन भन्दा भदौमा श्रमिकको संख्यामा ७० प्रतिशतले वृद्धि भएको जनाइएको छ । यो वर्ष धेरैजसो साउदी र कतारबाट श्रमिकको माग बढिरहेको कार्यालयले जनाएको छ ।

गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षभरी जम्मा १ लाख ६६ हजार जनाले श्रम स्वीकृति लिएका थिए । हाल यो क्रम हरेक दिन बढिरहेको जनाइएको छ ।

कोरोना महामारी सुरुभएसँगै वैदेशिक कामदार बन्द गरेको मलेसिया सरकारले अझैसम्म पनि अन्यत्र मुलुुकबाट कामदार ल्याएको छैन । यता वैदेशिक रोजगार कार्यालय ताहाचलले वैदेशिक रोजगारमा जाने कामदारलाई सहजीकरण गर्न अनलाइन टोकन प्रणालीको सुरु गरे पनि घन्टौंसम्म पनि लाइनमा बस्नु परेको युवाहरूको गुनासो छ ।

वैदेशिक रोजगारी पुनः चलायमान हुने संकेतसँगै ओरालो लाग्न थालेको विप्रेषण आप्रवाहमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।