१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभामुखविरुद्धको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’, यस्ताे छ कारण


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज(बुधबार) पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको भए पनि मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ । यसअघि पनि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण ‘हेर्न नमिल्ने’मा रहेको मुद्दा, बुधबार पनि कार्कीलाई नै इजलासमा राखिएपछि ‘हेर्न नमिल्ने’ भएको हो ।

कार्की न्यायाधीश हुनुअघि विपक्षीका तर्फबाट बहस गरेका कारण उहाँले यो मुद्दा हेर्न नमिल्ने कानुनका ज्ञाताहरू बताउँछन् । यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो । त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उहाँविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो । द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो । तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् ।

पूर्णिमायाले २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन् । उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको थियो । त्यसपछि लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त हुनुभएको थियो । सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए ।