
मालती घोरासैनी
काठमाडौं । कोरोना संक्रमण केही सहज हुँदै गएपछि राजधानीमा आर्थिक गतिविधि पनि बढेको छ । तर, दैनिक ज्याला मजदुरी गर्ने वर्गले भने अहिले पनि पर्याप्त काम पाउन सकिरहेका छैनन् । त्यसमाथि कोरोनाको खोपमा समेत पहुँच नहुँदा उनीहरू थप मर्कामा परेका छन् ।
जीविकोपार्जनका लागि भारी बोक्ने भरियाहरूले नियमित काम पाउन नसक्दा नजिकिँदै गरेको चाडपर्व कसरी मनाउने भन्ने चिन्ता बढेको छ । दिपेन्द्र थामी दशैंका लागि खर्चपानीको जोहो गर्न अरुको भारी बोक्न काठमाडौं आउनुभएको हो । भारी बोकेर हिड्दा सवारी र जाम गल्लीका कारण सास्ती भाेग्नुपरेकाे भन्दै उहाँकाे उहाँको गुनासो छ ।
त्यसो त व्यापारिक क्षेत्रहरूमा सदाबहार भरियाहरूको संख्या पनि पहिले पहिले जस्तो देखिँदैन । मौसमी भरिया(कुनै विशेष समयमा मात्र भारी बोक्न आउने)हरूको संख्या अलि बढि देखिने गर्दछ । दशैंका लागि खर्च जोहो गर्ने उदेश्यले भारी बोक्नेहरूको संख्या पनि उल्लेख्य देखिन्छ । उनीहरूलाई दशैंका लागि कसरी खर्च पुर्याउँ भन्नेमात्र चिन्ता छ । पर्याप्त कामको खोजी गरिरहेका उनीहरू खाली बस्नुपर्दा दुःखी छन् ।
भारी बोकेर घर–घर जानुपर्ने भरियाहरूले कोभिडविरुद्धको खोप नलगाएकाले पनि पर्याप्त काम पाइरहेका छैनन् । सामान्य पढेलेखेका उनीहरू खोप लगाउनेबारे अनविज्ञ छन् । वर्षौंदेखि भारी बोकिरहेका कुमार बस्नेत, खोपको बारेमा आफूहरूले सुने पनि लगाउने स्थानबारे थाहा नभएको बताउँछन् ।
चाडपर्व सबैका लागि आउँछ । तर, न्यून आय भएका समुदायका लागि आएका चाडबाडले खुसी भन्दा बढी पीडा दिएर जाने गर्छन् । न्यून आय भएकाहरू आयस्तर उकास्न सरकारले यस्ता वर्गलाई लक्षित गरी कार्यक्रमहरू ल्याउने हो भने उनीहरूको जीवनस्तर माथि उठाउन सजिलो हुन्थ्यो कि ?
प्रतिक्रिया दिनुहोस्