
खिलनाथ ताजपुरिया
काठमाडौं । आफूविरुद्धको मुद्दाको आफैं न्यायाधीश बनाइनुभएका नेकपा (एमाले) उपाध्यक्ष भीम रावललाई सूदुरपश्चिमको इन्चार्जमा पुनर्गठित गराउने अवसर जुरेको छ । दश बुँदे सहमति कार्यान्वयन नहुँदा चेपुवामा पर्नुभएका रावलका लागि यो अवसर र चुनौती दुवैको एकसाथ यात्रा हो ।
स्थायी कमिटीले दश बुँदे सहमतिको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलको संयोजकमा उपाध्यक्ष रावललाई तोकिदिएपछि उहाँ केही हर्षित देखिनुभयो । तर, सो कार्यदलमा ओली निकटको दबदबा देखिएपछि कार्यदलले राजहाँसको भूमिका निर्वाह गर्नेमा शंका बढेको हो ।
सात सदस्यीय कार्यदलमा संयोजक रावलको पक्षमा उप–महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे मात्र हुनुहुन्छ । कार्यदलमा संस्थापन पक्षबाट महासचिव ईश्वर पोखरेलसहित उप–महासचिवमा विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू लेखराज भट्ट र शंकर पोखरेल हुनुहुन्छ ।
दश बुँदे सहमति अक्षरस कार्यान्वयन नभएको भन्दै एमालेमा नेतृत्व तह र तेस्रो धार भनिएका नेताहरूबीच बैठकको कार्यकक्षमै असमझदारीको दूरी बढ्दै गएपछि गठित कार्यदल गत सोमबारबाट छलफलमा जुटेको छ । कार्यदलबाटै आफूलाई सुदूरपश्चिमको इन्चार्जमा पुनस्र्थापित गराउने एउटा मार्ग देखिए पनि उपाध्यक्ष रावलमा कुनै आशावादी छनक देखिएको छैन ।
सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले एमाले पार्टी पुनर्जीवित गराएपछि उपाध्यक्ष रावललाई प्रदेश इन्चार्जबाट हटाइँदै भट्टलाई जिम्मेवारी दिइएको थियो । कार्यदलमा रहनुभएका भट्ट भने आफू सूदुरपश्चिमको इन्चार्ज रहेको दावी गर्न छाड्नुहुन्न ।
अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्