१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, कारबाही भने जारी


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थाले ।

एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेकै बेला सभामुख सापकोटाले बस्नका लागि आग्रह गरे पनि लामो समसम्म नबसेपछि सदनको काम–कारबाही अघि बढाउनुभयो ।

नाराबाजीकै बीच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाउनुभयो ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन सदनसमक्ष पेश गर्नुभएको थियो ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।