२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


दशैंको मुखमा विद्यालय खोल्दा अभिभावक रुष्ट, त्रास कम गर्न जाेखिम माेलेकाे सञ्चालकको जवाफ

समय तोकेर शुल्क तिर्न दवाव नदिएको विद्यालय सञ्चालकको दाबी

39
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । असोज १ बाट स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यकामा स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरेर विद्यालय खोल्ने भनियो । सोही निर्देशनअनुसार अधिकांश विद्यालय भर्चुअल कक्षालाई निरन्तरता दिई तिहारपछि विद्यालय खोल्ने योजनामा रहँदा केही विद्यालय भने नियमित पढाइ तथा परीक्षा सञ्चालन गरिरहेका छन् ।

दशैंको मुखमा २० दिनको लागि विद्यालय खोल्ने निर्णय गरेर प्रशासन र महानगरपालिकाले शुल्क उठाउन सहजीकरण गरिदिएको अभिभावकको आरोप छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

तर, विद्यालय सञ्चालकहरू भने सो कुरा मान्न तयार छैनन् । काठमाडौंस्थित न्यूटन हाइस्कुलका प्रधानाध्यापक राम केसी, शुल्क उठाउनका लागि मात्र विद्यालय नखोलेको बताउनुहुन्छ । विद्यालयले मासिक शुल्क नबढाएको र यति समयभित्रै तिनुपर्छ भनेर अभिभावकलाई दवाव पनि नदिएको उहाँको दाबी छ ।

विद्यालय बाहिर पर्याप्त सावधानी अपनाइएको पाइँदैन । विद्यालयसम्म पुग्न सवारी साधन र सार्वजनिक स्थलमा लापरबाहीका कारण कोरोना सरिहाल्छ कि भन्ने त्रास विद्यार्थीमा छ । डरैडरमा विद्यालय पुगेका विद्यार्थीलाई शैक्षिक सत्र नै खेर जाने पो हो कि भन्ने चिन्ता पनि छ । भौतिक रुपमा पढ्न पाउँदा विद्यार्थी भने खुसी छन् । यद्यपि उनीहरूमा आफ्नो कारणले घरका वृद्धवृद्धामा संक्रमण फैलन्छ कि भन्ने त्रास भने बाँकी नै छ ।

वैकल्पिक माध्यमबाट पढाइ हुँदा पनि न्यूनतम शुल्क तिर्नैपर्छ । शुल्कका लागि विद्यालय खोल्न लागिएको भन्ने आरोप सत्य नभएको विद्यालय सञ्चालकहरूको दाबी छ । शुल्कको लेनदेन र नाफाघाटाको हिसावकिताब पछि मिलाउन सकिन्छ । तत्कालको लागि विद्यार्थीमा देखिएको मनोवैज्ञानिक भय हटाउन अभिभावक, विद्यालय र शिक्षक एकतावद्ध भएर लाग्नुपर्छ ।