
काठमाडौं । आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
यस अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।
पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको हकहित र सम्मानमा केही कदमहरु चालिएको भए पनि यस क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने अवस्था छ । आफ्नै आँगन परदेश लाग्ने उमेर समूहका नागरिकहरुलाई आत्मसम्मानसहित बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।
नेपालमा २०५१ सालमा मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिन शुरु गरिएकोमा अहिले उक्त भत्ता मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने सोको आधारमा सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
तर ज्येष्ठ नागरिकहरुलाई आफ्नै सन्तानबाट समेत हेला नहुने वातावरण बनाउन भने राज्य अहिले पनि चुकिरहेको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्वहरु भन्दै राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने बताउनु भएको छ ।
ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सरकार अग्रसर रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्