काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गर्नुभयो ।
पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ । यो स्वागतयोग्य निर्णय हो ।’
अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दाबीसमेत गर्नुभयो । उहाँले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुन सम्मत ढंगले उपचार खोज्ने चेतावनीसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्