२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीको संकेत : शंकर पोखरेल उत्तराधिकारी ?

बोल्दा बोल्दै ओलीको स्वास्थ्यमा समस्या

0
Shares

काठमाडौं । शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेकपा (एमाले)को पहिलो विधान महाधिवेशन सुरु भयो ।

पहिलो दिन सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गर्नुभयो । प्रस्ताव पेश गर्दा–गर्दै अध्यक्ष ओलीले आफूलाई समस्या भएको बताउनुभयो ।

४८ मिनेट बोलेपछि ओलीले केही समय रोकिँदै पछाडि स्टेजतर्फ हेर्नुभयो र बाँकी रहेको प्रस्ताव पेश गर्ने जिम्मेवारी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई सुम्पनुभयो । ओलीले बोलाएसँगै खुसी हुँदै पोडियतमर्फ बढेका पोखरेलले करिब सवा घण्टामा बाँकी प्रस्ताव पढेर सक्नुभयो ।

‘कमरेडहरु मलाई अलिकति रुघाखोकीको कारणले प्रस्तुत गर्न समस्या भयो,’ पोखरेललाई जिम्मेवारी दिनुअघि ओलीले भन्नुभयो, ‘लामो भएको कारणले म कमरेड शंकर पोखरेललाई मेरोतर्फबाट प्रस्ताव प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु, मेरो तर्फबाट उहाँले गर्नुहुन्छ ।’

ओलीले प्रतिवेदन बीचमै छाडेर नेता शंकर पोखरेललाई प्रस्तुत गर्न लगाउनुलाई राजनीतिक क्षेत्रका विज्ञले भने अर्थपूर्ण रुपले हेरेका छन् । उनीहरूले यसलाई उत्तराधिकारी र नेतृत्वमा आफ्नो इच्छाको विषयसँगसमेत जोड्न भ्याएका छन् । उनीहरू ओलीले शंकर पोखरेललाई उत्तराधिकारीको रुपमा हेरेको हुनसक्ने अनुमान गर्छन् ।

यद्यपि ओलीपछि उनका विश्वास पात्र एवं उप–महासचिव विष्णु पौडेल पनि नेतृत्वका आकांक्षी हुन् । महासचिव ईश्वर पोखरेलसँग भने ओलीको पहिलाको जस्तो निकटता नभएको जानकारहरू बताउँछन् । ओलीले आफूपछि नेतृत्वमा विष्णु पौडेल र शंकर पोखरेललाई देखेको उनीहरूको विश्लेषण छ ।

अर्काथरीले भने यसलाई सामान्य रुपमा लिएका छन् । दुई–दुई पटक मृगौला प्रत्यारोपण गर्नुभएका ओलीले लामो समय उभिएर बोल्दा गाह्रो हुने र स्वास्थ्यमा समेत समस्या देखिने उनीहरूको भनाइ छ । महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उप–महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गनुपर्ने भएकाले पनि ओलीले शंकर पोखरेललाई चुनेको उनीहरू बताउँछन् ।