
काठमाडौं । दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण सुरु भएको छ ।
राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हिजो सुरु भएको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सलाई घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । मनिष डाँगीको निर्णायक गोलसँगै नेपालले उद्घाटन ख्लमा खाता खोलेको हो ।
खेलको ८५ औं मिनेटमा मनिषले गोल गरी नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् ।
नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गरेको यो पहिलोपल्ट हो । राष्ट्रिय टोलीका लागि मनिषको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । उनले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि गोल गरेका थिए ।
साफ च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली लामो समयदेखि तयारीमा छ । नेपालले दशरथ रंगशालामा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो भने कतारमा १० दिनको विशेष तयारीसँगै ओमान राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपाली टोली साफमा अहिलेसम्म सेमिफाइनलबाट माथि पुग्न सकेको छैन भने माल्दिभ्स साविक विजेता हो । सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित थियो । फाइनलमा भारतलाई हराएर उसले प्रतियोगिताको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्