१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन दिनको अन्तरालमा एक सय विद्युतीय कार नेपाल भित्रिए


0
Shares

काठमाडौं । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा एक सय नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारीसाधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिक रूपले काठमाडौं लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारीसाधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारीसाधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ । गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताउनुभयो ।