१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको तल्लो तहसम्म गुटगत माखेसाङ्लो, काठमाडौंमा दुई समूहको रस्साकस्सी

गुटगट प्रवृत्ति बढेकोमा कार्यकर्ता चिन्तित

0
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंका ११ वटा पालिकामध्ये १० वटाको अधिवेशन भएको छ । १० वटामध्ये ९ वटामा नेतृत्वको लागि शनिबार चुनाव भएको छ ।

चुनाव भएका पालिकामा केन्द्रकै बाटो अनुसार गुटगत प्रतिस्पर्धा भएको छ । तीमध्ये देशको संघीय राजधानी काठमाडौं महानगर अधिवेशनले चासो र चर्चा पाएको छ । महानगर नेतृत्वको लागि संस्थापन र संस्थापन इतर पक्ष प्यानलसहित मैदानमा छन् ।

वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि पालिका अधिवेशनसम्म आइपुग्दा नेतृत्वको लागि गुटगत प्यानलको प्रतिष्पर्धा तीव्र बन्यो । मुलुकको सिंगो राजनीतिमै विशेष महत्व राख्ने काठमाडौं महानगरको अधिवेशनमा पनि केन्द्रकै लाइनमा दुई पक्षीय प्रतिस्पर्धा देखिएको छ ।

मुलुकको राजनीतिक उतारचढावका बेला जसरी काठमाडौंको राजनीतिक गतिविधिप्रति सबैतिर चनाखो नजर रहन्छ, त्यसरी नै काठमाडौंको केन्द्रभाग रहेको महानगरको अधिवेशनमा पनि चासो देखिएको छ । महानगरको नेतृत्वको लागि संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र संस्थापनइतर पक्षबाट नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अधिवेशनका मतदातालाई भने गुटगत प्यानलको प्रतिस्पर्धा मन परेको छैन । कांग्रेस प्रतिनिधि चन्द्रकला खरेल सर्वसम्मतिमै नेतृत्व चयन भएको भए राम्रो हुने बताउनुहुन्छ । गुटगत शैलीले पार्टीलाई कमजोर बनाउने उहाँको बुझाइ छ । प्यानल बनाउनु पार्टीकाे हितमा नहुने उहाँकाे भनाइ छ ।

त्यसो संस्थापन पक्षका सभापतिका उम्मेदवार प्रगतिमान रञ्जितले पनि गुटगत प्रतिस्पर्धालाई रुचाउनुभएको छैन । केन्द्रदेखि वडासम्म मौलाएको गुटगत प्रतिस्पर्धा र होडबाजीलाई चचिरेसम्म कांग्रेसले निर्वाचनमा सफलता हात नपार्ने उहाँको बुझाइ छ । कांग्रेस बलियो भए पनि एकजुट नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ ।

एउटै पार्टीको अधिवेशनमा देखिएको गुट र उपगुटगत प्रतिस्पर्धा जायज नभए पनि बाध्यताको उपज भएको उपसभापतिकी उम्मेदवार सुशीला ढकाल बताउनुहुन्छ । अधिवेशन वा महाधिवेशनमा सबै आकांक्षीलाई समेटेर जाने अवस्था नभएपछि त्यसबाट केही मानिसहरूको बेग्लै समूह बन्नुलाई सहजै लिनुपर्ने उहाँको भनाइ छ ।

लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो । तर, प्रतिस्पर्धा कुन हदसम्म रहन्छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ । लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको सचिव पदकी आकांक्षी सम्झना भट्टराई बताउनुहुन्छ । ठूलो पार्टी भएपछि समूह उपसमूह हुनु स्वभाविक भएको उहाँको बुझाइ छ । पार्टीको आन्तरिक लोकतन्त्रका लागि पनि निर्वाचनमा समूहहरूबीच प्रतिस्पर्धा हुने उहाँ बताउनुहुन्छ ।

शासकीय संरचनाअनुसार महानगरको नेतृत्वको लागि पहिलो भएकाले पनि अधिवेशनले धेरै चर्चा पाएको हो । महानगरको वर्चस्वले स्थानीय जनप्रतिनिधिको उम्मेद्वारीमा समेत प्रभाव पर्ने भएकाले शीर्ष नेताहरुले यसलाई प्रतिष्ठासंग जोडेर हेर्ने गरेका छन् ।