१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो ।

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरू समान हैसियतका छन्, समान क्षमता राख्छन्’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, ‘ती मध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’

बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

बैठकमा सरकारका सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।