
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा सहभागीहरूले पार्टी सञ्चालन प्रक्रियामा नेताहरुप्रति असन्तुष्टि पोखेका छन् ।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरूले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका हुन् । नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरूले भने व्यक्ति नभइ पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश १ को टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको भन्दै व्यक्तिलाई नभइ पार्टी र नीति स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताउनुभयो । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उहाँले नेतृत्वको नजिक हुनेहरूले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
समूहगत छलफलमा नेताहरूले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उप–हासचिव पद कायमै राख्नुपर्ने मत पनि राखेका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उप–महासचिव पद खारेज गर्ने प्रस्ताव छ ।
लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउनुपर्ने बताउनुभयो । सहभागी प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल चलाइएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिने कार्यक्रम छ । अध्यक्षको जवाफ दिएसँगै एमालेको प्रथम विधान महाधिवेशन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्