
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरु काट्न थालेछि नेपाल दूरसञ्चार प्राधिकरणले चासो दिएको छ ।
प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अति आवश्यक सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानूनी कारवाही गर्न र त्यस्ता पूर्वाधारको रक्षा गर्न सरोकारवाला निकायसंग माग गरेको हो । नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिरेको भन्दै हिजोदेखि देशका विभिन्न स्थानमा इन्टरनेटको फाइबर तथा केवलको लाइन काट्न शुरु गरेको छ ।
जसका कारण चितवन, सुनसरीलगायतका स्थानमा इन्टरनेट तथा केबल सेवा अवरुद्ध बनेको छ । इन्टरनेट सेवा प्रदायकहरुले भने प्राधिकरणले एकतर्फी रुपमा पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजेको जिकीर गर्दै आएका छन् ।
दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र विद्युत प्राधिकरणबीचको पोल भाडा विवाद समाधान गर्न सञ्चार मन्त्रालय र दुरसञ्चार प्राधिकरणले पहल गरिरहेको बेला तार काटेर सेवा अवरुद्ध पारिएको भन्दै सेवा सुचारु गर्न आग्रह गरेको छ । दूरसञ्चार ऐन २०५३ अनुसार अत्यावश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई दण्ड गर्ने व्यवस्था रहेकोतर्फ पनि दूरसंचार प्राधिकरणले सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्