
काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइब्लिहुड पार्टनरशिप (हेल्प)ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसईई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।
छात्रवृत्ति छनोटका लागि विद्याथीहरुबाट तीनवटा निबन्धसँंगै विद्यालय र सम्बन्धित वडाको सिफारिससहित अन्तर्वार्ता लिइएको थियो । छात्रवृत्तिका लागि १५० जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्ति प्राप्त गर्न सफल ३५ जना विद्यार्थीले जनही ५० जहार बराबर सहयोग पाउँनेछन् ।
यसका अतिरिक्त यो बर्ष कोभिड महामारी र बाढी–पहिरोका कारण पीडित थप २० जना विद्यार्थीलाई जनही १५ हजारका दरले एक वर्षे (राहत सहयोग) समेत दिइएको छ ।
यसवर्ष सातकन्या माविकी संगीता तामाङलाई ५५ हजार रुपैयाँ बराबरको विशेष छात्रवृत्ति प्रदान गरिएको छ । अस्वस्थ बुवाआमा, कमजोर परिस्थिति भएपनि पढ्ने उहाँको धोको पूरा गर्न हेल्पले विशेष छात्रवृत्ति प्रदान गरेको हो ।
हेल्पले यो वर्ष संस्थाका संस्थापकमध्ये एक र श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेलम्बु–२ सुगेन्चे निवासी छिरिङ्ग लामालाई ‘शैक्षिक सम्मान’ द्वारा विभूषित गरेको छ ।
छिरिङ्गले १० वर्षदेखि निरन्तर रुपमा श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयको चौतर्फी शैक्षिक विकासको लागि उल्लेखनीय योगदान दिँदै आउनुभएको छ ।
हेल्पबाट हालसम्म ५३० जना विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्