
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटअन्तर्गत सोमबार भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले चितवनलाई ६ विकेटले हराएको हो । चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ७२ रन जोड्दा, तमिम इक्बालले ४० र उपुल थरङ्गाले ३९ रन जोडे । चितवनका करिम जनतले दुई तथा सागर ढकाल र भीम सार्कीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन बनाए । कमल सिंह ऐरी ७ रनमा अविजित रहे ।
भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट हात पार्दा कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक—एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्