
मालती घोरासैनी
काठमाडौं । सानो व्यवसाय तर ठूलो दायित्व । सडक ओछ्याउनु र आकाश ओढ्नु उनीहरूको बाध्यता । उनीहरू निरन्तर काममै खटिरहन्छन् ।
काठमाडौंका गल्ली–गल्लीका साक्षी बनेका यी भुईंमान्छेलाई न घामको डर छ, न त झरीको । पीर छ त, केवल आफ्नै बाध्यता र कर्तव्यको । बेला–बेलामा महानगरले सामान जफत गरिदिने पीडाबाट भने उनीहरू आजित छन् । त्यतिबेला भने उनीहरूलाई आफूले टेकेको जमिन भासिएको अनुभव हुन्छ ।
६ वर्षदेखि नाङलोमा चाउचाउ, विस्कुट र पानीजस्ता खाद्य सामाग्री व्यापार गर्दै आएका सिन्धुपाल्चोकका सेते तामाङ ६० वर्षका भए । २०७२ सालको विनासकारी भूकम्पमा घाइते भएपछि गाँउ छोडेका तामाङले नाङ्लो पसल राखेरै ४ जनाको परिवार पाल्दै आएका छन् । तर, बेला–बेलामा महानगरले सामान लगिदिँदा भने आपत आइलाग्ने बताउनुहुन्छ ।
यसै गरी काठमाडौंमै ‘आफैँ धनी, आफैँ व्यवसायी’ बन्दै आएकी सोलुखुम्बुकी लम्मु शेर्पाले काठमाडौं बागबजारमा नाङलोमा पसलमै अमला व्यापार गर्न लागेको २ वर्ष बित्यो । पहिले ज्यामी काम गर्दै आएकी ४५ वर्षीया शेर्पा शारीरिक रूपमा पनि कमजोर हुँदै गएपछि आफ्ना लागि यही मात्र विकल्प रहेको बताउँछिन् ।
कोरोनाका कारण बजारमा मानिसको चहलपहल समेत कम हुँदा उनीहरूको व्यवसाय पनि धरापमा पर्दै गयो । कोरोनाले अर्थतन्त्र धराशायी बनाउँदा देश र विदेशमा गरी १५ लाख बढीले काम गुमाए । झन् मौसमी व्यापार गर्ने यस्ता पात्रको त हरिविजोग नै भयो । सडकमा फस्टाएका यी व्यवसाय स्वतः धर्मराए । बिहानदेखि बेलुकासम्म बाटोको साक्षी बनेर बस्ने यी खुद्रे व्यवसायी दिनभरी ग्राहक कुर्छन् । साँझसम्म कुनै ग्राहक नआइदिँदा निराश बनेर फर्किन्छन् ।
काम गरेर खान पाउनु उनीहरूको अधिकार भए पनि वैधानिक हिसावले नचल्दा सामान जफत गर्न बाध्य भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा बताउनुहुन्छ । सीमान्तकृत वर्गले वैधानिक तरिकाले गरेका व्यापार तथा व्यवसायमा आफूहरूले हस्तक्षेप नगरेको उहाँको भनाइ छ । यद्यपि सीमान्तकृत भन्दैमा अवैधानिक तवरले सार्वजनिक स्थानहरू हडप्ने अधिकार कसैमा नभएको सापकोटाको तर्क छ ।
देशका विभिन्न ठूला शहरमा यस्ता साना व्यवसायीहरू प्रशस्तै भेटिन्छन् । तर, कर्मशीलभन्दा बाटोका अवरोधकका रूपमा चिनिँदा उनीहरूको आत्मविश्वासमा प्रहार हुने गरेको छ । त्यसैले सडकमा स्वतन्त्र व्यापार गरिरहेकाहरूलाई अनुकूल वातावरण वातावरण सृजना गरिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्