
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बंगलादेश र भारतले बराबरी खेलेका छन् ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा केहीबेर अघि सकिएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । भारतले सुरुवाती अग्रता बचाउन नसक्दा १० खेलाडीमा सीमित बंगलादेशसँग अंक बाड्नुपरेको हो ।
खेलको २६औंं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । ५४ मिनेटमा बंगलादेशका विश्वनाथ घोसले रातो कार्ड खाएर बाहिरिए पनि बंगलादेशले उत्कृष्ट पुनरागमन गर्यो ।
बंगलादेशका लागि ७४औं मिनेटमा एसिन अराफतले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन ।
खेलमा भारतीय टीमले १२ सट प्रहार गर्दा ८ सट भने टार्गेटमा लागेको थियो । बल पोसेसन पनि ६८ प्रतिशत भारतको पक्षमा रहँदा फल भने दुवै टोलीले १४ वटा गरेका थिए ।
खेल बराबर भएसँगै दुई खेल खेलेको बंगलादेश ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा उसले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । एक खेल खेलेको भारत भने तेस्रो स्थानमा छ ।
तीन अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले आयोजक तथा साविक बिजेता माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । भारत र बंगलादेशले अंक बाँडेसँगै दोस्रो खेलमा जित निकाल्न सके फाइनल प्रवेशका लागि नेपाललाई सहज हुनेछ ।
सोमबार राति पौने १० बजे हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । पहिलो खेलमा जित निकालेर आत्मविश्वासी भएको नेपालले तीन अंक निकाल्न चाहिरहेको छ । उता पहिलो खेलमा हार बेहोरेका श्रीलंका पनि जितको खोजीमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्