१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाडवाडको बेला आपराधिक क्रियाकलाप बढ्दै


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । कोरोना महामारीले सुनसान बनेका राजधानीका मूख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, नयाँ सडकलगायतका स्थानमा दशैंको किनमेल गर्नेहरूको भीड लाग्न थालेको छ । सामान्य मरमसलादेखि लत्ता कपडा र गरगहना किन्नेहरुको भीड मनग्गे देख्न सकिन्छ ।

भीडभाडमा मौकाको फाइदा उठाउँदै चोरी गर्ने, पकेट मार्ने र महिला हिंसा गर्ने समूहहरू पनि सक्रिय भएको पाइएको छ । यसै पनि चाडवाडको बेला सक्रिय हुने यस्ता आपराधिक समूहहरूबाट सतर्क रहनुपर्नेमा प्रहरीले जोड दिएको छ ।

बढी भीडभाड हुने क्षेत्रमा आपराधिक कृयाकलप नियन्त्रणका लागि पर्याप्त मात्रामा सादा पोसाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंह बताउनुहुन्छ ।

कोरोना संक्रमणको खतरा पनि कायमै रहेकाले आपराधिक क्रियाकलाप नियन्त्रणका साथै बजारमा निस्कनेहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा पनि प्रहरी सचेत रहेको काठमाडौं प्रहरी प्रमुख सिंह बताउनुहुन्छ ।

वर्षमा एक पटक आउने पर्व मनाउने उत्साहसँगै सर्वसाधारणले बजारमा निस्कँदा आपराधिक गिरोहको फन्दा र कोरोना संक्रमणबाट जोगिनेतर्फ पनि सचेत रहन‍ जरुरी छ ।