१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिपक्षीले नाराबाजी मात्र गरे, जवाफ सुन्न चाहेनन्– सांसद बडु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जवाफ सुन्न नचाहेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभयो ।

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उहाँले बताउनुभयो । संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उहाँले बताउनुभयो । संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उहाँले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रूपमा अगाडी बढाउन आम धारणा बनेको बताउनुभयो । चुनावी परिणाम विभिन्न समूहको मिश्रित रूपमा आएको भन्दै उहाँले यसले पार्टीलाई समूहगत रूपमा पनि सन्तुलित राख्ने बताउनुभयो ।

त्यस्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताउनुभयो । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद कँडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताउनुभयो । प्रतिपक्षी दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उहाँले बताउनुभयो ।