
एजेन्सी । फ्रान्सेली क्याथोलिक पादरीहरूले सन् १९५० यता झण्डै २ लाख १६ हजार बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ ।
एक स्वतन्त्र अनुसन्धानले ७० वर्षको अवधिमा सो संख्यामा बालबालिकाहरू पादरीहरूबाट यौन दुर्व्यवहारमा परेको तथ्य पत्ता लगाएको हो । चर्चका सामान्य सदस्यहरूले गरेको दुर्व्यवहारको घटनालाई समेत जोड्ने हो भने यो संख्या ३ लाख ३० हजारसम्म पुग्ने अध्ययनको निष्कर्ष छ ।
अनुसन्धान प्रमुख जीन मार्क सौभाले यो तथ्याङ्क निकै काहलीलाग्दो रहेको बताउनुभएको छ । फ्रेन्च चर्चहरूले अनुसन्धानको निष्कर्ष लज्जास्पद र डरलाग्दो रहेको भन्दै त्यसका लागि माफी मागेका छन् ।
एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन् ।
यो अनुसन्धान सन् २०१८ मा फ्रेन्च क्याथोलिक चर्चद्वारा गरिएको थियो । प्रहरी, चर्चको अभिलेख, पीडितहरू र साक्षीहरूसँगको झण्डै दुई वर्षको सोधपुछपछि अनुसन्धान प्रतिवेदन तयार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्