१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन दशकदेखि सत्ता र शक्तिको भकुण्डो बन्दै प्रहरी

राजनीतिक हस्तक्षेपमुक्त संगठन बनाउन चुनौति

0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । एउटा समय थियो– आफ्नो आत्मरक्षाका लागि मानिसले धनुकाँड बोक्थे । पटुकीमा खुर्सानीको धुलो बोकेका महिला यसैको बलमा शत्रुमाथि जाइलाग्थे ।

राज्यको अवधारणासँगै प्रहरी जन्मियो । प्रहरीले जनताको जनधनको सुरक्षा जिम्मा लिएपछि उनीहरूले घरेलु हतियार बिसाए । यही मनोविज्ञानबाट जन्मिएको नेपाल प्रहरी ६६ वर्ष प्रवेशसँगै ताली कम, गाली बढीको धरातलमा उभिएको छ ।

प्रहरी संगठनलाई शक्ति र सत्ताबाट अलग राख्ने ठूलो चुनौति छ । विधिको शासनका लागि अग्रमोर्चामा रहने प्रहरी संगठन नै विगत तीन दशकयता शक्ति र सत्ताको भकुण्डो बन्यो । चेन अफ कमाण्डमा चल्ने संगठनका प्रमुख छान्न दलहरुबीच शक्ति संघर्ष चल्न थाल्यो ।

हरेक राजनीति संगठनले रुचिअनुसारको संगठन प्रमुख छान्न थाले । त्यतिमात्र कहाँ हो र ? निजी सुरक्षा गार्डसमेत रुचिमा छान्ने क्रम रोकिएको छैन । यसले संगठनको आत्मा छिया–छिया हुँदै प्रहरी अधिकारीको मनोबल खस्किएको पूर्व प्रहरी महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ ।

सत्य, सेवा, सुरक्षणम्को पवित्र नारा बोकेको प्रहरीले जनताको प्रहरी हुन थुप्रै तगारा पार गर्नुपर्ने अवस्था छ । राजनीतिक हस्तक्षेपमुक्त प्रहरी संगठन र जनताले अपेक्षा गरेको सुरक्षा दिन सक्ने क्षमता विकास उसका लागि अहिले चुनौति र अवसर हुन् ।

सीमित स्रोत साधनमा चल्नुपर्ने बाध्यता, संगठनमाथि शक्ति र सत्ताको नाङगो हस्तक्षेप, प्रहरी आचरणलगायत थुप्रै माखेसाङ्लोभित्र प्रहरी जेलिएको छ । यद्यपि सुधार नै उसको पहिलो र अन्तिम एजेण्डा हो । त्यसका लागि प्रविधियुक्त प्रहरी संगठनको विकल्प नभएको पूर्व प्रहरी महानिरीक्षक मल्लको भनाइ छ ।

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाई संगठित रूपमा परिचालन गर्न प्रहरी प्रधान कार्यालय स्थापना गरी प्रहरी संगठन विजारोपण गरियो ।

संगठन प्रमुखको पहिलो दायित्व तोरणशम्शेर राणालाई लगाइएको थियो । पछि राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन गरी यसैले दिएको सुझावका आधारमा २०१२ सालमा प्रहरी संगठनले वैधानिक स्वरुप पाएको हो ।

हरेक वर्ष प्रहरी दिवसका दिन सहिद प्रहरीका नाममा झारिने आँसु र प्रतिबद्धताले मात्र प्रहरी जनताले चाहेको शक्ति बन्न सक्दैन । त्यसका लागि श्रोतसाधन सम्पन्न, इमान र व्यावसायिक धर्ममा चल्ने प्रहरी संगठन अपरिहार्य छ ।