१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुमार पौडेल इन्काउन्टर प्रकरण : मेयर, डीआईजी र सिडिओसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता


0
Shares

काठमाडौं । दुई वर्षअघि प्रहरीसँगको मुठभेडमा ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।

सर्वोच्च अदालतले पौडेलको परिवारले दिएको जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले बुधबार जाहेरी दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको हो । घटनामा १० जनाविरुद्ध किटानी जाहेरी दिइएको छ ।

सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डाक्टर वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरू सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाहको नाम पनि जाहेरीमा परेको छ । पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेको छ ।

२०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो । पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी छ । तर, प्रहरीले सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ ।

घटनाबारे तत्कालिन गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्ने जाहेरीमा माग गरिएको छ ।