
काठमाडौं । भैरहवा ग्लाडियसर्ट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो । अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
पराजयसँगै काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
काठमाडौंका लागि असान प्रियन्जनले ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । जनक प्रकाशले २८ रन जोड्दा अमित श्रेष्ठले १९ रन बनाए । भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदान गरे । काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २/२ विकेट लिए ।
यस्तै आजै भएको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै इपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पोखराले अब फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा भैरहवासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्