
बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने बताउनुभयो ।
सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुवातबाटै मुख्यमन्त्री कपको आयोजना गरेको उहाँको भनाइ छ । सरकारले अहिले ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा ९ जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी कैलालीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना भएको हो ।
असोज २३ गतेसम्म चल्ने प्रतियोगिताका विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्