
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकारहरूको रोकिएको तलव, सुविधा तत्काल उपलब्ध गराउन सञ्चारगृहसँग जोडदार माग गरेको छ ।
बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै महासंघले कोरोना महामारीलाई देखाएर अधिकांश सञ्चारगृहले तलव सुविधा रोकेकोप्रति आपत्ति जनाउँदै तत्काल सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको हकहितका लागि सञ्चारगृहका सञ्चालकको घरदैलोमा धर्ना दिने चेतावनी दिँदै श्रमजीविको पक्षमा आन्दोलन सुरु भएको उद्घोष गर्नुभयो ।
महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।
नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले समयमा तलव नदिएर केही सञ्चारगृहले गरेको श्रमशोषण निन्दनीय भएको बताउनुभयो ।
वक्ताहरुले दोस्रो चरणको आन्दोलन छिट्टै सुरु हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्