१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्टरनेटलाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाको जोड

युटिएल र स्मार्ट कम्पनीको विकल्प सोच्दै दुरसञ्चार प्राधिकरण

0
Shares

काठमाडौं । दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक अन्तरक्रियामा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दुरसञ्चार सेवा प्रभावकारी हुन नसक्दा टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या आउने गरेको गुनासो गर्नुभयो ।

सेवामा निरन्तर समस्या हुँदा पनि सम्बन्धित निकायले ध्यानै नदिएको उहाँको आरोप छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उल्लेख भन्दै प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफूहरूले गर्नुपर्ने प्रक्रिया लामो हुँदा प्रतिस्पर्धा गर्न गाह्रो परेको बताउनुभयो ।

उहाँले टेलिकमले आफ्ना सेवाहरूलाई क्रमशः अपग्रेड गरिरहेको जिकिरसमेत गर्नुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारिता कमजोर भएको भन्दै यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा नीतिगत स्थायित्व कायम हुन नसकेको बताउनुभयो ।