१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुको कृष्णनगरमा रोकिएन झाडापखाला प्रकोप, चार सयभन्दा धेरै बिरामी


0
Shares

मनिष गुप्ता
चन्द्रौटा । अस्पतालका बेड भरिएका छन् । बिरामीहरु आउने घुइँचो छ । कुरुवासँगै अन्य सर्वसाधारणमा त्रास छ । अस्पतालमा शय्या अभाव भएपछि विद्यालयमा राखेर बिरामीहरुको उपचार भइरहेको छ ।

अहिलेसम्म अस्पताल सँग सम्पर्कमा आएका बिरामीको सख्या ३ सयभन्दा बढी पुगेको छ । स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको संख्या एक सयभन्दा बढी छ ।

दुई वर्षदेखि सताइरहेको कोरोना भाइरसको प्रकोप होइन । कपिलवस्तुमा अस्पताल र स्वास्थ्य संस्थामा अहिले झाडापखलाका बिरामीले भरिभराउ छन् । सोमबारदेखि फैलिएको पखालाबाट गाउँ नै बिरामी परेपछि अस्पताल र स्वास्थ्य संस्था मात्र होइन, कृष्णनगर नगरपालिकाका दुई वटा विद्यालयमा बिरामीहरूको उपचार भइरहेको छ ।

मंगलबार साँझ ४० जनालाई डिस्चार्ज गरे पनि बुधवार ति बिरामी फेरि सिकिस्त भएर आएपछि भर्ना गरिएको शिवराज अस्पताल प्रशासनले जनाएको छ । राम गोरखा माविमा अहिले २० जना र महेन्द्र आधारभुत विद्यालयमा १५ जना र शिवराज अस्पतालमा १ सय ३० जना बिरामीको उपचार भइरहेको छ ।

शिवराज अस्पतालको सम्पर्कमा आएको ३ सय जनामध्ये अहिले १ सय ६५ जना अस्पतालमा उपचारत छन् । ३० जनालाई जिल्ला अस्पताल र प्रदेशिक अस्पताल रिफर गरिएको छ भने बुधबार साँझ ४ बजे सम्म १ सय ५ जना बिरामी डिस्चार्ज भएको डा.मुकेश चौधरीले जानकारी दिनुभयो ।

बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा. चौधरीले बताउनुभयो ।

मंगलबार मात्र यस प्रकोपका कारण दुई जनाको ज्यान गएको थियो । अस्पतालमा अहिलेसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ । अवस्था यस्तै भइरहे उपचारका लगिा औषधिको समेत समस्या हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । दिशा र पानीको परीक्षणको रिपोर्ट नआइपुग्दा झाडापखाला र बान्ताको कारण पत्ता लाग्न सकेको छैन ।