
मानबहादुर वली
सुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरातत्व विभागबाट उत्खनन गरी पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण सकिएको हो । काँक्रेविहारको पुनर्निर्माण २०६१ सालदेखि थालिएको थियो । तर उक्त कामले पूर्णता नपाएपछि दोस्रो पटक २०७२ सालदेखि फेरि पुनर्निर्माणको काम सुरु गरिएको थियो ।
सुर्खेतको काँक्रेविहार भग्नावशेषको गरिएको अध्ययन अनुसार करिब १३ को दशकतिर यसको स्थापना भएको अनुमान गरिएको छ । भग्नावशेषमा बुद्ध, शिव पार्वतीलगायतका धेरै मूर्तिहरु कुदिएका छन् । २०५७ सालअघिसम्म यत्रतत्र अवस्थामा अलपत्र परेको काँक्रेविहारको विकासका लागि पुरातत्व विभागले पहल गरेको थियो । काँक्रेविहारको बारेमा कुनै स्पष्ट गुरुयोजना निर्माण नगरिएको भएपनि काँक्रेविहारलाई शिखर शैलीको मन्दिर स्थापना गर्ने लक्ष्य राखी २०७२ सालबाट पुनर्निर्माणमा तीव्रता दिइएको थियो । एक सय ५ फिट उचाइमा शिखर शैलीको मन्दिर निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको काँक्रेविहार पुनर्निमार्ण कार्य सम्पन्न गरिए पनि हस्तान्तरण हुन भने बाँकी रहेको वीरेन्द्रनगर– ९ का वडा अध्यक्ष सुरेश कुमार मानन्धरले बताउनुभयो ।
२०७२ सालमा ८ करोड १८ लाख रुपैयाँमा काठमाडौको सिद्धबाबा कन्स्ट्रक्सनले काँक्रेविहार पुनर्निर्माणको जिम्मा लिएको थियो । यसअघि छरिएर रहेका पत्थरहरूमा कुँदिएका विभिन्न आकर्षक आकृतिहरुलाई प्रयोग गरेर काँक्रेविहार खडा गरिएको हो । अहिले काँक्रेविहार परिसरमा चौकीदार, सरसफाइ, टिकटलगायतको जिम्मा वडा नं. ९ को कार्यालयले लिएको छ ।
यता, पर्यटकीय गतिविधीलाई बढाउनका लागि वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माण गर्न थालेको छ । नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई थप आकर्षित गर्न ११ लाख रुपैयाँ बजेटमा मिनी चिडियाखाना स्थापनाको काम थालेको हो । जसका लागि कम्पाउन्ड वाल निर्माणको काम सुरु भएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द प्रसाद दाहालको भनाइ छ ।
रैथाने वन्यजन्तु विस्थापित नहुन भन्ने उद्देश्यले उनीहरूका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र बास बस्नका लागि वासस्थान निर्माण गरी तत्कालका लागि चिडियाखानामा जरायो, दुम्सी, खरायो, मृग र चरालगायतका वन्यजन्तु रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्