२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भीम रावललाई त १० बुँदे कार्यान्वयन गर्न दिइएको छैन, अरूकाे के हाल हाेला– भानुभक्त जोशी

‘साथीहरू लम्पसार परेको अनुभूति गरेको छु’

0
Shares

काठमाडौं । माधवकुमार नेपाल तेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति र भदौ १३ गते जारी भएको अन्तरपार्टी निर्देशन पालना नभएपछि आफूले नेकपा (एमाले) छाडेको बताउनुभएको छ ।

एकीकृत समाजवादीमा प्रवेश गरेपछि पत्रकारहरूसँगको कुराकानीमा नेता जोशीले भएको सहमति कार्यान्वयन नभएपछि आफूले पार्टी छाडेको बताउनुभयो । भदौ १३ गते जारी भएको निर्देशन आजको दिनसम्म कार्यान्वयन नभएपछि आफूले अपमानित महसुस भएर एमाले छाडेको स्पष्ट पार्नुभयो ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएका भीम रावलले आफ्नो जिम्मेवारी नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० बुँदे सहमतिका संयोजकसमेत रहनुभएका भीम रावल आफैँलाई सुदूरपश्चिम प्रदेशमा अध्यक्षता गरेर बैठक बस्न दिइएको छैन भने अरु ठाउँमा कसरी सहमति कार्यान्वयन भयो ?’

‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु ।’

१० बुँदे सहमतिमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचना २०७५ जेठ २ मा फर्काउने र जेठ ३ गते पार्टीमा आएकाहरूलाई सोही जिम्मेवारी दिइने भनिएता पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन नसकेको उहाँको जिकिर छ ।