
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ६४ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ । अहिलेसम्म सम्पन्न अधिवेशनमा गुटभन्दा नेताहरूको व्यक्तिगत प्रभावले काम गरेको देखिएको छ ।
केही नेताले अनपेक्षित प्रभाव आर्जन गरेको देखिएको छ भने केही नेतालाई साख जोगाउनै हम्मे–हम्मे पर्ने देखिन्छ । प्राप्त परिणामले कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको स्पष्ट संकेत देखिएको छ ।
राजनीतिक रूपले प्रभावशाली र महत्वपूर्ण मानिने देशको राजधानी काठमाडौंमा सम्पन्न वडा र पालिका अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूलाई बलियो प्रमाणित गर्नुभएको छ । अघिल्लो महानगरको मेयरमा प्रत्याशी जिताउन नसक्दा आलोचित सिंहले गुमाएको साख फर्काएको व्याख्या समर्थकले गरेका छन् ।
एक महानगरपालिकासहित काठमाडौंका ११ पालिकामध्ये ६ वटा पालिकामा आफूपक्षीय नेतृत्व चयन गर्न सिंह सफल हुनुभएको छ । मुलुककै राजनीतिलाई फरक पार्ने हैसियत राख्ने काठमाडौंमा पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता भिमसेनदास प्रधानको उपस्थिति बलियो रूपमा प्रकट भएको छ ।
प्रधाननिकट नेताले ३ पालिकामा बाजी मारेका छन् । पूर्वमहामन्त्री सिंहसँगको सहकार्यमा नेता गगन थापा एउटा पालिकाको नेतृत्वमा आफू समर्थक छिराउन सफल हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा समर्थक एक पालिकाको नेतृत्वमा सीमित भएका छन् ।
काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला तथा केन्द्रीय सदस्य शेखर कोइरालाको खासै प्रभाव देखिएन । काठमाडौं बाहेक राजनीतिक रूपले महत्वपूर्ण मोरङको अधिवेशनमा केन्द्रीय सदस्य शेखर कोइरालाको प्रभाव देखिएको छ भने झापामा पूर्वमहामन्त्री सिटौलाको छत्रछायाँले काम गरेको देखिन्छ ।
ललितपुर र लुम्बिनी प्रदेशका जिल्लामा सभापति देउवा प्रभावशाली देखिनुभयो भने कास्की र चितवनमा वरिष्ठ नेता पौडेलको प्रभावले औसत काम गरेको छ । अधिवेशन सम्पन्न हिमाली जिल्लामा पनि गुटभन्दा नेताहरूको व्यक्तिगत प्रभाव चुनावी नतिजामा देखिएको छ ।
औपचारिक परिणाम सार्वजनिक भएका जिल्लाहरूको परिणाम हेर्दा गुटगत परिणाम बाहेक व्यक्तिगत प्रभावलाई हेर्दा सभापति देउवा बलियो देखिएका छन् । पूर्वमहामन्त्री सिंह र सिटौलाको उपस्थिति बलियो देखिँदा वरिष्ठ नेता पौडेलेको उपस्थिति अघिल्लो अधिवेशनको तुलनामा सन्तोषजनक देखिँदैन ।
जिल्ला अधिवेशनको परिणाममा महामन्त्री डा.कोइरालाको उपस्थिति औसत देखिएको छ । पार्टीभित्र पनि संस्थापनइतरको नेतृत्व गरेको जस्तो देखिएपनि पौडेलभन्दा अन्य नेताहरू प्रभावशाली देखिने गरेका छन् । इतरपक्षका अधिकांश बैठक महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहको निवासमा बस्ने गरेको छ ।
पार्टीमा लामो योगदान रहे पनि शासकीय र पार्टीमा पहिलो हुन नसक्दा नेता पौडेल आफूले नेतृत्व गरेकै समूहमा निरीह बन्दै गएको आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्