१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौसमी ज्वरो र रुघाखोकीका बिरामी बढे, निमोनियाको जोखिम रहने चिकित्सकको चेतावनी


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । नेपालमा हाल कडा खालको मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढेको छ ।

कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभावले यस वर्ष धेरै व्यक्ति प्रभावित देखिएका हुन् ।

बालबालिकामा धेरै देखिएको यो समस्या बढ्दै गए निमोनियाको खतरा रहने चिकित्सक शेरबहादुर पुन बताउनुहुन्छ । रुघाखोकी सामान्य नै भए पनि फ्लू भएको खण्डमा भने निमोनियासम्म हुनेसक्ने उहाँको भनाइ छ ।

नेपालमा गर्मी र जाडो महिना सुरु हुने समयमा यस्ता समस्या सतहमा आउने गरेको छ । गर्मीमा बढी देखिने फ्लूले अत्यधिक ज्वरो आउने र जिउ दुख्ने समस्या देखिन्छ ।

कोरोना संक्रमण र फ्लूको लक्षण मिल्दोजुल्दो र छुट्याउन नै कठिन हुने भएकाले धेरै व्यक्तिले दुई तीन पटकसम्म नै कोरोनाको परीक्षण गराउने गरेको चिकित्सकको अनुभव छ ।

यद्यपि कोरोना र फ्लूको उपचार गर्ने तरिका भने फरक छ । अघिल्लो साल भने कोरोना संक्रमणका कारण यो समस्या विश्वभर न्यून देखिएकाे भाइराेलाेजिस्ट डा. पुन बताउनुहुन्छ ।

इन्फ्लुएन्जा विरुद्धको खोप लगाउन सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । वर्षको १ पटक लगाउनुपर्ने खोकी, दम, स्वास प्रश्वास सम्बन्धी दिर्घ समस्या भएका व्यक्तिले अनिवार्य लगाउन चिकित्सकहरू सुझाव दिन्छन् ।

इन्फ्लुएन्जा सरुवा रोग हो । यो एक बाट अर्को व्यक्तिमा २ देखि ४ दिनभित्र सरिसक्छ । लक्षण देखिएको व्यक्तिले भने मास्क लगाउने, अन्य व्यक्तिको नजिकमा नजाने, घरमा नै बस्ने जस्ता सतर्कता अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन् ।