१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकीकृत समाजवादीले चार मन्त्रालय पाउने पक्का, पाँच मन्त्री पठाउने

प्रदेश १ र बागमतीको मुख्यमन्त्री पनि पाउने सहमति

0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित चार मन्त्रालय पाउने पक्का भएको छ ।

बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले स्वास्थ्य तथा जनसंख्यासहित चार मन्त्रालय पाउने पक्का भएको बताउनुभएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टीले स्वास्थ्यसहित शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी पाएको जानकारी दिँदै सरकारमा पाँच जना पठाउने खतिवडाले बताउनुभयो । शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने उहाँको भनाइ छ ।

नेता खतिवडाले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनेसमेत सहमति भएको जानकारी दिनुभयो । उहाँले शुक्रबारसम्ममा सबै दलहरूले मन्त्रीको नामावली फाइनल गरेर शनिबार मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो ।

यस्तै स्थायी समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ । पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरूलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वाशलाई मनोनयन गरेको छ ।

यस्तै स्थायी समितिको बैठकले बेदुराम भुषालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयलाई स्थाई समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनु भयो ।

बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ ।