
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको छ ।
मादिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा भारतलाई श्रीलंकाले बराबरीमा रोकेको हो ।
भारतविरुद्ध निकै रक्षात्मक भएर खेलेको श्रीलंकाले भारतले गरेको ११ प्रहारलाई विफल बनाएको थियो । खेलको अधिकांश समय बल भारतको पकडमा भए पनि उसले गोल भने गर्न सकेन ।
खेल बराबरी भएसँगै भारत दुई खेलमा दुई अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा तीन खेलबाट एक अंक जोड्दै श्रीलंका चौथो स्थानमा छ । भारतले यसअघि बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो भने श्रीलंका बंगलादेश र नेपालसँग पराजित भएको थियो ।
आजै राति पौने १० बजे माल्दिभ्स आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्दैछ ।
श्रीलंका र भारतबीचको खेल बराबरी हुँदा नेपाललाई फाइनलमा पुग्नका लागि सहज भएको छ । अहिलेसम्म नेपाल दुई खेलबाट ६ अंक बनाएर अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । दुई खेलबाटै चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ ।
नेपालले अब २४ गते राति पौने १० बजे भारतविरुद्ध तेस्रो खेल खेल्नेछ । २७ गते दिउँसो पौने ५ बजे नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । अंकतालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि ३० गते भिड्नेछन् । प्रतियोगितामा पाँच देश सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्